देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
काठमाडौं, कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान आज (बुधबार) देखि देशभर शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।
उनीसँगै सोही अस्पतालका डा. अनुप बाँस्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले पनि कोरोना खोप लगाएका छन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप देशका सातै प्रदेशमा यसअघि नै पुर्याइसकिएको छ ।
पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई कोरोना खोप दिइँदै छ । भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भनेको छ । अहिले पहिलो चरणमा ४ लाख ५० हजार डोज मात्र आइपुगेको छ । बाँकी अर्काे चरणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।