तीन महिनाभित्र सबै नेपालीमा कोरोनाको खोप पुर्‍याइन्छ : प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीमा कोरोनाविरुद्धको खोप पुर्‍याइने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाईंमा जित हात पर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन । यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’ कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप निःशुल्क उपलब्ध गराइने पनि बताए । ‘सक्ने देशहरुले नसक्नेहरुलाई निःशुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य संवेदनशीलताको आधारमा खोप लगाइँदै जाने प्रतिबद्धता पनि जनाए । साथै उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिए । कोरोनाविरुद्धको खोप अभियानमा सिंगो राष्ट्र नै एकजुट भएर लागेको पनि उनले बताए ।