एशियाकै सबैभन्दा ठूलो तस्कर पक्राउ
काठमाडौँ, एशियाकै सबैभन्दा ठूलो तस्कर मानिने सो चि लप नेदरल्याण्डमा पक्राउ परेका छन् । उनी संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक अभियुक्त हुन् । उनी नेदरल्याण्डको राजधानी एम्स्र्टडमको स्किपोल विमानस्थलबाट पक्राउ परेका हुन् । एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानी रहे पनि पक्राउ पर्नबाट जोगिएका उनी शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए ।
लपको पक्राउका लागि इण्टरपोलको समन्वयमा विश्वभरिका करिब २० वटा निकायले सन् २०१८ देखि सहकार्य गरेको रोएटर्सले उल्लेख गरेको छ । १९९० मा अमेरिकामा पक्राउ परेपछि नौ वर्ष जेलमा बिताएर छुटेका उनी पछिल्लो समय मकाउ, हङ्कङ र ताइवानमा लुकिरहेको चर्चा चलेको थियो । चीनमा जन्मिएका क्यानडाली नागरिक लपले संचालन गरेको ‘द कम्पनी’ एशियाकै सवैभन्दा ठूलो लागू औषध कारोवार गर्ने कम्पनी भएको इण्टरपोल लगायतका संस्थाहरुले दावि गर्दै आएका छन् । ५६ वर्षीय लप मेक्सिकोका लागू औषध कारोबारी एल च्यापो गुज्मानपछिका सबैभन्दा ठूलो तस्कर मानिन्छ ।
लोप प्रमुख रहेको ‘द कम्पनी’ले वार्षिक रुपमा एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको निकै ठूलो हिस्सा ओग्टने गरेको इण्टरपोलले दावी गर्दै आएको छ । अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ परेकोले उनलाई आफ्नो देशमा सुपुर्दगी गराउन अष्ट्रेलियाले माग गरेको छ । अस्ट्रेलियाको सङ्घीय प्रहरी(एएफपी) ले आफ्नो देशमा हुने कूल लागु औषध कारोवारमध्ये करिब ७० प्रतिशत ‘द कम्पनी’ ले भित्रयाउने गरेको बताउंदै आएको छ ।