रमेश घर्ति आलोकका २ गजल
गजल
अनुपम सोह्र श्रृङ्गारको सुन्दर तन पाउनु भयो ।
तर कहिल्यै ठान्नुभयो उत्तम, जीवन पाउनु भयो ?
हानथाप लुँछाचुँडिले त हाम्रो पत्थरै भयो हृदय ।
खोज्नुस त अन्र्तमनमा सदाचारी पन पाउनु भयो ?
प्राप्ति र विजयको होडले दिलायो सबै ऐश्वर्य ।
खर्च गर्दा बढ्दै जाने सर्वोत्तम धन पाउनु भयो ?
परिवर्तित समयको परिस्कृत मान्छे हजुर त है ।
सबै पाउनु भाछ तर उपकारी मन पाउनु भयो ?
सेकेन्डमै जित्छौँ दुनियाँ, दिग बिजयी बन्छौँ पनि ।
मानवीय भावनाको स्वतन्त्र गगन पाउनु भयो ?
गजल
लायो कुदसा र पो समृद्धिको तार चुँडियो ।
एकैपटक होइन हजुर यो बारबार चुँडियो।
तँ भन्दा म के कम भन्ने प्रवृत्ति हावी हुँदा ।
भिडे राजनेता आपसमा सरकार चुँडियो।
आज धनले धर्मपनि किनि दिन्छन मान्छे ।
तसर्थ अदालतबाटै न्यायको धार चुँडियो।
ज्ञानले पुर्ण हामी प्रयोगमा शून्य काट्दैनौँ ।
गर्यौं अत्याचार र निमुखाको संसार चुडियो।
कहिलेसम्म आश्वासनले बुझाउँछौ नेताज्यु ?
सकिदैन अब आस्थाभाव र बिचार चुँडियो।