केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।

 सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उनले कोरोनालाई पराजित गर्ने बिन्दुमा नेपाल पुगेको, तर अझै केही समय सतर्कता र सावधानी अपनाउन आग्रह गरे । भारतबाट ल्याइएको १० लाख खोप चार लाख ३० हजारलाई लगाइने र त्यो अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको उनको भनाइ रहेको छ ।

कार्यक्रममा उनले सशस्त्र प्रहरीले देशको सुरक्षामा निभाएको भूमिकाको प्रशंसा गर्दै चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरीलाई स्रोतसाधनमा कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । सशस्त्र प्रहरीको प्रभाव, प्रतिष्ठा अझै उज्ज्वल, भरोसायोग्य र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।