प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।
प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन हुने भएकाले सोही भावलाई आमजनसमुदायमा सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा भएको थियो ।
कार्यक्रममा ईश्वर पोखरेलले नेकपाभित्र उत्पन्न विभाजित परिस्थिति अचानक उत्पन्न भएको नभई एकता गर्दादेखि नै त्यसका भ्रुण देखिएको बताए । उनले अन्तरविरोधमा खेलेर आफ्नो स्वार्थका लागि अरुको ढाडमा टेकी टाउकामा हान्ने प्रवृत्तिका कारण यो स्थिति आएको टिप्पणी गरे ।

