भोली देशभर कांग्रेसको विरोध प्रदर्शन हुदै
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोली ९बिहिबार० देशभर विरोध प्रदर्शन गर्ने भएको छ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एक विज्ञप्ती जारी गर्दै सहभागी हुन अपील गरेका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ, केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।
संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमत रहेको उनको भनाई छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।