संसद् पुनर्स्थापना भएपनि प्रधानमन्त्रीमा दाबी गर्दिनँः प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नगर्ने जनाएका छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएको खण्डमा आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने जनाएका हुन् । बरु उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्ने समेत बताए । म संसदीय दलको नेता हुँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन प्रचण्डले भने मुख्य काम संविधान बचाउने हो फेरि प्रधानमन्त्रीमा म दाबी गर्दिनँ।

संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन। पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो। ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन । प्रचण्डले भने ।

कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदमविरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने प्रचण्डले बताए । उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए ।

‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’