रुकुम पश्चिममा प्रहरी कार्यालयमै कुटिए तीन वडाध्यक्ष

रुकुम पश्चिम, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष कुटिएका छन् । मंगलबार कार्यकर्ताबीचको विवाद समाधानका लागि इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा विपक्षी दलका कार्यकर्ताबाट वडाध्यक्ष कुटिएका हुन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर समेत गरेको थियो ।

आठबीसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन प्रहरी कार्यालयमा भैरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले कुटपिट गरेका हुन् । शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा नेता हुन् ।

वडाध्यक्षमाथि कुटपिट भएपछि आक्रोशित बनेका कार्यकर्ताले विपक्षी दलका वडाध्यक्ष तथा कार्यकर्तामाथि हातापात गरेको प्रहरीले बताएको छ । त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको हो । झडपका क्रममा तीन प्रहरी घाइते भएका छन् । यस्तै, वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।