नेपाल हाम्रो भाइ होः भारतीय रक्षामन्त्री
काठमाडौं, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले जे भने पनि नरिसाउने जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्रीले यस्तो जनाएका हुन् । शनिबार भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले नेपाल भारतको भाई भएको बताएका छन् । साथै नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने उनको भनाई रहेको छ ।
नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘नेपालसँग हाम्रो प्रगाढ साँस्कृतिक सम्बन्ध छ। नेपाल हाम्रो छिमेकी मात्र होइन नेपाल हाम्रो भाइ हो। भाइले हामीबारे जस्तो टिप्पणी गरे पनि हामी नेपालविरुद्ध कुनै आपत्तिजनक प्रतिक्रिया जनाउँदैनौं।’तर, केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका थिए ।
भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नहुने बताएका थिए ।भारतले वैशाख २६ गते नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको थियो । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । त्यसपछि नेपालले अतिक्रमित भूमीलाई समेटेर नक्सा जारी गरेको थियो ।