संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा आजको बहस जारी

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजको बहस सुरु भएको छ । सोमबार बहस नसकिएपछि आज पनि बहसलाई निरन्तरता दिइएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबारदेखि बहस भैरहेको छ । आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्। यस्तै, सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेपछि बहसका क्रममा समयको ख्याल गर्न पनि भनिएको छ ।

सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेका छन् । एउटै व्यक्तिले घण्टौं बहस गर्ने हो भने मुद्दाको बहस सकिनै तीन महिनाभन्दा बढी समय लाग्ने बताइएको छ ।