ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौँ, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले थापामाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले दिएको शुभकामनामा थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्री गणेश डे हो’ भनेर प्रतिक्रिया दिएका थिए । त्यसपछि उनलाई निलम्बन गरिएको थियो ।

यस्तै बैठकले कोषाध्यक्ष रविन्द्र जोशीले आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तुत गरेको अनुमानित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रूपैयाँको बजेट तथा वार्षिक कार्यक्रम साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारणसभामा निर्णयार्थ प्रस्तुत गर्ने पनि निर्णय भएको छ ।