संसद् विघटनविरुद्ध परेका रिटमाथि आज पनि बहस हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सोमबार बहस नसकिएपछि आज पनि हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबारदेखि बहस भैरहेको छ ।

गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई १३ जना अधिवक्ताले रिट दायर गरेका थिए । सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेल र अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।