संसद् विघटनको मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ लम्बिने सम्भावना

काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ मंगलबार पनि जारी रहने छ । सोमबार अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सुनुवाइ हप्तौं दिन लम्बिने सम्भावना बढेको रिट निवेदकमध्येका एक अधिवक्ताले बताए ।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी रहेका छन् । गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।