किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण

अवतरण गराएलगतै चालकहरु बेपत्ता

काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टीले पुसु २५ गते शनिबार वंगलादेशबाट उडान गरि ‘हेलि स्काइ’ नामक कम्पनीका दुई हेलिकोप्टर आकस्मिक रुपमा त्रिभुवन विमान स्थलमा अवतरण गराएका थिए ।

ती हेलिकोप्टरहरु किर्गिस्तानको रहेको र ३० वर्ष पुरानो हो । पूर्व सूचना नदिई हेलिकोप्टरहरु नेपाल किन ल्याइयो भन्ने छानबिन गरिरहेका प्राधिकरणका अधिकारीहरु अचानक ती पाइलटद्धय नै वेपत्ता भएपछि थप आश्चर्य र तनावमा परेका छन् । तका अनुसार ती दुवै पाइलट अहिले रहस्यमयरुपमा इण्डोनेसिया पुगिसकेका छन् र उनीहरुलाई सम्पर्क गर्नको लागि पटक पटक प्रयास गर्दा पनि नसकेपछि अहिले किर्गिस्तान सरकारसंग सम्पर्क गर्ने प्रयास भैरहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार किर्गिस्तान सरकार र ‘हेलि स्काई’ कम्पनीका अधिकारीहरुलाई नै बोलाएर हेलिकोप्टर फिर्ता पठाउने प्रयास भैरहेको छ ।

‘हामीले हाम्रो हेलिकोप्टर ल्याउंछौं, जनवरी अन्त्यसम्म त्यहीं राखिदिनु पर्यो भन्ने खबर आएको छ । के गर्ने भन्ने हामी छलफल गर्दैछौं’ प्राधिकरणका ती अधिकारीले भने । यी दुवै हेलिकोप्टरलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डोमेस्टिक परिसर’मा राखिएको छ । स्रोतका अनुसार इण्डोनेसिया र किर्गिस्तानबाट पर्यटकहरु ल्याएर नेपाल घुमाउने र त्यसको लागि त्रिभुवन विमान स्थललाई पार्किङको रुपमा प्रयोग गर्ने गरि ‘हेली स्काई’ कम्पनीले केही समय अगाडि अनुरोध गरेको थियो ।

तर, प्राधिकरणले त्यसबारेमा कुनै निर्णय दिएको थिएन । त्यही विचमा दुईवटा पाइलट लगभग एकै समयमा जर्वजस्ती हेलिकोप्टर अवतरण गराएर भागेका छन् । कम्पनीले केही समय अघि गरेको त्यो अनुरोध पछि भएको यो घटनाको विचमा कुनै सम्वन्ध छ कि छैन भन्ने छानविन भैरहेको बताइएको छ । ‘दुर्घटना पछि गाडी वा वाइक चालकहरु भाग्नु त नौलो घटना होइन, तर कुनै दुर्घटना नभई एकै पटक दुईवटा हेलिकोप्टर नेपालमा ल्याएर पाइलट भाग्छन भने त्यसमा केही न केही रहस्य त पक्कै छ । हामी त्यही रहस्य पत्ता लगाउने प्रयास गरिरहका छौं’ प्राधिकरणका ती अधिकारीले भनेका छन् ।