निर्वाचनको पक्षमा जनताको लहर उर्लेको छः मन्त्री रायमाझी

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु परेको स्पष्ट पारेका छन् ।

रिपोर्टस क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले आगामी चुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेछ, उहाँहरु खुशी भएर नयाँ जनादेशमा जानु पर्नेमा किन अप्ठेरो मानिरहनुभएको छ भनी प्रश्न गरेका छन् । मन्त्री रायमाझीले भने, “तीन वर्षसम्म सरकारमा बस्ने अनि, आफू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुुर्याउने ,ढुङ्गामुढा र विरोध प्रदर्शन गर्ने, सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?”

निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका र विस्तारै निर्वाचनको पक्षमा मुलुकभर जनमतको लहर उर्लिरहेको उनले बताए ।प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नरहेको बताउँदै उनले भने,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को हो देशको नायक भन्ने कुुरा बुझनेछन् ।’’ उनले नाकाबन्दी र भूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेको बताए ।