पार्टीको आधिकारिता नपाउने भएपछि ओली समूहले निर्वाचन आयोगका सहसचिवको सरुवा गरेको आरोप
काठमाडौँ, नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो ।
ओलीले असंवैधानिक कदमका साथ संसद् विघटन गरेपछि नेकपा विभाजन भएको हो । दुवै पक्षले पार्टीका आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेका थिए । जसमा अल्पमतमा रहेको ओली पक्षले गौतमलाई पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो । तर, बहुमत जसको छ, उसैको पक्षमा निर्णय हुनुपर्छ भन्ने पक्षमा रहेका गौतमको सरुवा भएको स्रोतको दाबी रहेको छ ।
गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको छ । उनले बिहिबारदेखि जिम्मेवारी सम्हाल्नेछन् । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ ।नेकपा बहुमत पक्षले गौतमको सरुवालाई सरकारको षडयन्त्रको रुपमा लिएको छ । नेकपाको विवाद प्रभावित पार्न उनको सरुवा भएको स्रोतको जिकिर छ ।