जी न्यूजले भन्यो सगरमाथामा भारतले दाबी गर्नुपर्छ

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने जनााएको छ । गत सोमबार अन्तर्वार्ता लिन नेपाल आएको जी न्यूजको टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।

तर, अन्तर्वार्ता लिएपछि हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर पुगेको जी न्यूजले मंगलबार राति प्रशारण भएको कार्यक्रममा सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको हो ।जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भारतीय गणितज्ञ राधानाथ सिकदरले माउन्ट एभरेस्टको उचाइ नापेको बताउँदै उक्त शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्ने दाबी गरेका छन् ।

भारतले यसमा अभियान चलाउनुपर्ने उल्लेख गर्दै जी-न्यूजका सुधिरले माउन्ट एभरेस्टमाथि आफ्नो दाबी विश्वभर पेश गर्नुपर्ने बताएका छन् ।‘माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’ प्रधान सम्पादक चौधरीले भनेका छन्, ‘राधानाथ सिकदर भारतका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम उनको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ । माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ ।’