निर्वाचन आयोगसँग नेकपाले माग्यो पार्टी एकताका कागजात
काठमाडौं, नेकपाको संस्थापन पक्ष प्रचण्ड-नेपालले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछिका सबै कागजातको एक प्रति माग गरेका हुन् ।
संस्थापन पक्षले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रहसमेत गरेको छ। संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको कारण निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु भएको भन्दै कार्यक्रम रोक्न संस्थापन पक्षले अनुरोध गरेको हो ।
आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए। सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ।