मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडी टायर बालेर विद्यार्थीको प्रदर्शन
सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको धरपकडविरुद्ध नेविसंघले विभिन्न मागसहित आन्दोलन गरेको छ । सोमबार बिहान क्याम्पस अगाडी विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।आइतबार परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा झडप भई स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रहरीले ३ राउण्ड अश्रु ग्याँस पनि हानेको थियो। प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका छन् ।
यस विषयमा नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन् । विद्याको पवित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपति समक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरु माथि यस प्रकारको बर्बर दमन हुनु जति निन्दनीय छ, त्यति नै लज्जाजनक पनि छ । उनले भनेका छन् ।