मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सांकेतिक तस्विर

महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको वृतका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए ।

प्रहरीले राजन लामाले चलाउँदै आएको बा ९५ प ६४०५ नम्बरको रातो रंगको २२० सिसिको पल्सरलाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानको क्रममा अर्को मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको क्रममा भक्तपुरको सुर्यबिनायक नगरपालिका–१ मा सञ्चालित बिन्दबासिनी वर्कसपबाट बा ७२ प ७९४९ नम्बरको पल्सर मोटरसाइकल बरामद भएको डिएसपी कँडेलले जानकारी दिए ।

प्रहरीका अनुसार चोरीमा संलग्नहरु लामो समयदेखि नै व्यवसायिक रुपमा मोटरसाइकल चोरी तथा किनबेचमा संलग्न रहेको खुलेको छ ।