चक्कु हानी फरार युवक चितवनबाट पक्राउ

काठमाडौं, काठमाडौंमा चक्कु हानी एक युवकको हत्या गरी फरार रहेका व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई प्रहरीले सोमबार बिहान चितवनको पिप्लेबाट महाराजगन्ज वृत्तको टोलीले पक्राउ गरेको हो । उनले बुढानिलकण्ठ नगरपालिका–१ चिसेनीको गुम्बा नजिककै तामाङलाई चक्कु हानेर भागेका थिए ठकुरीलाई महाराजगञ्ज वृत्तबाट थप अनुसन्धान अगाडी बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले बताए

सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनीडाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा । लाक्पाले आफूले दाइ भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनीडाँडामा बोलाए । सँगै बसेर छ्याङ खाए । त्यहाँ, उमेश र राज सिंहको बीचमा विवाद भयो । उमेशको पूर्व प्रेमिका पछिल्लो समय राज सिंह ठकुरीसँग प्रेममा थिइन् । सो विवाद बढ्दै जाँदा उमेशले आफ्ना अन्य साथीहरुलाई फोन गरे । फर्किंदा बाटोमा झगडा गर्ने सुरले राज सिंह एउटा होटलमा छिरे, चक्कु लिएर आए ।

हात्तीगौंडा माथि आएपछि उमेशका सहयोगी र राज सिंहको बीचमा झगडा भयो । राज सिंहले उमेशका साथी सोचेर हानेको चक्कु सुशील तामाङको पेटमा घोपियो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरुले चक्कुले घोपेर सुशीलको किड्नीमा चोट लागेको प्रहरीलाई बताएका छन् ।