ललितपुरमा ८ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता
ललितपुर, ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालिन हरिसिद्धी गाविस वडा नम्बर १ तथा धापाखेल वडा नम्बर १ मा पर्ने जग्गा हिनामिना भएको हो।आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
नापी कार्यालय ललितपुरका तत्कालिन प्रमुख वद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालिन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र र खरिदार आत्माराम लुईटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।यूरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरुले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा ईश्वरलाल आचार्य, डा। दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ। उनीहरुले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ ।