वामदेवले गरे नेकपाको एकता अभियानको औपचारिक घोषणा

काठमाण्डौ, नेकपाका नेता वामदेव गौतमले शनिवार नेकपाको एकता अभियानको औपचारिक घोषणा गरेका छन् । अभियान भनिए पनि त्यसमा अरु को को छन् भन्ने कुरा अहिले खुलाइएको छैन । स्रोतका अनुसार अहिले अभियानमा औपचारिक रुपमा खुलेर कोही लागेका छैनन् । कतिसम्म भने गौतमका ‘किचन क्याविनेट’ भनिएका हरि पराजुली, वलराम वास्कोटा, शारदा सुवेदी लगायतका नेताहरु पनि औपचारिक रुपमा सो अभियानमा जोडिएको देखिदैन ।

उनीहरुले एकातिर गौतमको सचिवालय संचालन गरिरहेका छन् भने अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेकपाको प्रचण्ड माधव गुटले संचालन गरिरहेको सडक आन्दोलनमा सक्रियतापूर्वक लागिरहेका छन् । अर्थात् गौतमको ‘सचिवालय’ प्रधानमन्त्री ओली विरोधि कित्तामा उभिएको छ भने गौतम भने तिनै व्यक्तिहरुको साथ सहयोगमा ‘पार्टी एकता’ गराउंछु भन्दै अभियान संचालनको घोषणा गरिरहेका छन् । यसले गर्दा उनको एकता अभियानको नियत के हो ? भन्ने प्रश्न समेत स्वंय उनी निकटकै नेता कार्यकर्ताहरुले गरिरहेका छन् ।

गौतमले आफू निकटका नेता कार्यकर्तालाई कुनै पनि पक्षमा लाग्नको लागि दवाव दिएका छैनन् । तर, अभियानमा असर पर्ने गरि कुनै पक्षको समर्थन वा विरोधमा कडारुपमा प्रस्तुत नहुन निर्देशन दिएको बताइएको छ ।स्रोतका अनुसार गौतम पार्टी अहिले नेकपाको दुई गुटलाई एक ठाउंमा ल्याउने भन्दै एकता अभियान संचालन गरे पनि उनको भित्रि उद्धेश्य सबै कम्युनिष्ट पार्टी भित्रका असुन्तुष्ट नेता कार्यकर्तालाई अभियानमा संगठित गर्ने र सबै कम्युनिष्ट पार्टीहरुको लागि बलियो विकल्प बन्ने हो ।

‘शुरुमै पार्टी घोषणा गर्दा त्यसमा नेता कार्यकर्ताहरु लाग्ने संभावना छैन । त्यसमाथि २०५४ मा अति नै शसक्त पाराले पार्टी विभाजन गर्दा पनि टिकाउन नसकेको अनुभवले गर्दा झट्ट पार्टी विभाजन गर्न वा नयां पार्टी बनाउन गौतम डराइरहनु भएको छ । त्यो भन्दा राम्रो सबै कम्युनिष्ट पार्टीका असन्तुष्ट नेता कार्यकर्तालाई एकता अभियानको नाममा एक ठाउंमा ल्याउने र त्यही अभियानलाई टेकेर प्रधानमन्त्रीको कुर्सीमा पुग्ने रणनीतिसहित गौतमले काम गरिरहनु भएको छ’ गौतम निकट एक नेताले जनतापाटीसंग भने ।

उनका अनुसार अहिले गौतमले विभाजनको क्रममा रहेको नेकपा भित्रको ओली तथा प्रचण्ड–माधव गुट मात्र होइन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी र सरकारद्धारा प्रतिविन्धित नेत्र विक्रम चन्द विप्लव गुटको नेकपाका उच्च नेताहरुसंग समेत छलफल शुरु गरेका छन् । ‘अहिले एकता अभियानका पदाधिकारी घोषणा नगरिनुको एउटा कारण यसमा को को जोडिन चाहान्छन् भन्ने पनि हो । हाम्रो लक्ष्य अब ओली गुट र प्रचण्ड माधव गुट मात्रै होइन, नेकपाका सबै गुटहरुलाई एक ठाउंमा ल्याउने हो । मोहन विक्रम र नारायणमान विजुक्छेको पार्टी नआउन सक्छ, त्यसवाहेक अरु सबै कम्युनिट पार्टीका नेता कार्यकर्ता हाम्रो अभियानमा जोडिन्छन्’ उनी भन्छन् ।