उत्तर कोरियाली नेता किमले भने, ‘अमेरिका हाम्रो प्रमुख शत्रु हो’

एजेन्सी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हाम्रो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै राज्य नियन्त्रित समाचार एजेन्सी केसीएनएले जनाएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिन दुई साता पनि बाँकी नरहेको अवस्थामा किमको अभिव्यक्ति सार्वजनिक भएको हो । यसबारे अमेरिकी विदेश विभागले कुनै टिप्पणी गरेको छैन । बाइडेनको अभियानका प्रवक्ताले पनि टिप्प्णी गर्न अस्विकार गरेका छन् ।

ट्रम्प प्रशासनसँग किमको सम्बन्ध अस्थिर रह्यो । किम र ट्रम्प दुबैले सुरुमा एक अर्कालाई धम्की दिँदै गाली गरे । त्यसपछि उनीहरु शिखर वार्तामा बसे । उत्तर कोरियाको निसस्त्रीकरण गर्ने भन्दै किम र ट्रम्पबीच तीनवटा बैठक भए, तर कुनै ठोस प्रगति भएन । भियतनामको हानोईमा भएको वार्ताका क्रममा उत्तर कोरियाले आफूमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेको थियो । तर त्यसको बदलामा उसले के गर्ने भन्ने विषय स्पष्ट थिएन ।

नयाँ पाँच वर्षे योजना

प्योङयाङले आफ्नो ठूलो स्रोत आणविक हतियार र ब्यालेस्टिक मिसाइल्स विकास गर्नमा खर्च गरेको थियो । अमेरिकाको सम्भावित आक्रमणबाट बच्न यो जरुरी रहेको उसको दाबी थियो ।
किमको कार्यकालमा आणविक हतियार निर्माणमा ठूलो प्रगती भएको छ । कडा नाकाबन्दी र प्रतिबन्ध सहदैं किम प्रशासनले अमेरिकासम्म निशाना साँध्नसक्ने क्षमताका मिसाइल्स तयार गरेको छ । उत्तर कोरियाले आणविक क्षमतायुक्त सवमारिन तयार गर्ने आफ्नो योजना पूरा गरेको किमले बताएका छन् । यसले रणनीतिक सन्तुलनलाई परिवर्तन गर्नसक्ने उनको दाबी छ । ‘आणविक क्षमतायुक्त सवमारिनका लागि नयाँ अनुसन्धान पूरा भएको छ र यो अन्तिम परीक्षणको प्रक्रियामा छ,’ किमले राजधानीमा आयोजना गरेको भेलामा भनेका छन् ।

अमेरिका र आफ्नो रक्षा नीतिबाहेक किमले नयाँ पञ्चवर्षीय योजनाको प्रस्तावबारे पनि बोलेका छन् । यो प्रस्तावबारे भेलामा घोषणा हुने कार्यक्रम छ । यो प्रस्ताव स्वतन्त्र अर्थतन्त्र बनाउने विषयमा निरन्तर केन्द्रीत रहने किमले बताएका छन् । ‘नयाँ पञ्चवर्षिय विकास योजनाको प्रारम्भिक उद्देश्य अझै पनि आत्मनिर्भरता नै हो,’ उनले भने ।

योजनामा उर्जा बचाउने स्टिल प्लान्टको निर्माण, उद्योगलाई आत्मनिर्भर बनाउनका लागि केमिकलहरुको उत्पादनमा ठूलो वृद्धी, जलविद्युत उत्पादन र धेरै कोइला खानी सुरक्षित गर्ने विषय रहेको किमले बताए । आफ्नो आणविक महत्वाकांक्षाका पूरा गर्न खोज्दा अन्तर्राष्ट्रिय नाकाबन्दी सहनुपरेको छ । कोरोना भाइरस महामारी रोक्नका लागि लागु गरिएको लकडाउनका कारण उसको संकट थप बढेको छ । किमले दक्षिण कोरियाको आलोचना गर्दै उसले कोरोना भाइरस सम्बन्धी सहयोग र पर्यटनजस्ता गैर– अत्यावश्यक क्षेत्रमा मात्रै सहकार्यको प्रस्ताव गरेको बताए । दक्षिण कोरियाले अमेरिकासँग सैन्य अभ्यास र हतियार किन्ने काम बन्द गर्नुपर्ने उनले बताए ।