मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

चितवन,  जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नम्बर–९ का २१ वर्षीय मेलोन सुनार, वडा नं. ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी गुरुङले जानकारी दिए । ‘उनीहरुलाई घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा पक्राउ गरिएको हो,’ गुरुङले भने ।

मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिए ।