प्रदेश २ को नेकपा संसदीय दलको नेतामा शत्रुधन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध चयन भएका हुन् । यसअघि संसदीय दलको नेता रहेका सत्यनारायण मण्डलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

मंगलबार बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको थियो ।त्यसपछि नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो । चुनाव कार्यक्रमअन्तर्गत मङ्गलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र पौने ३ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने निर्धारित तालिका रहेकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी संसदीय दलको नेता बनेका हुन् ।

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।