प्रचण्ड-माधवसंग भन्दा ओलीसंग सहकार्य गर्न सहज हुनेः सभापति देउवा
काठमाण्डौ, नेपाली कांग्रेसले सरकारको गतिविधिको विरोध गर्ने तर, चुनावको विरोध नगर्ने रणनीति अपनाउने भएको छ । सभापति शेरवहादुर देउवाले चुनाव नहुनुको पीडा आफूले भोगेको भन्दै समयभन्दा अलिछिटो हुदैंमा त्यसको विरोध गरिहाल्नु उचित नहुने बताएका छन् । स्रोतका अनुसार संसद विघटन विरुद्ध परेको रिटमा वहस गरिरहेका कांग्रेस समर्थित कानुन व्यवसायीहरुसंग देउवाले सुटुक्क भेटघाट गरेका थिए ।
प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डिएलए)का अध्यक्ष योगेन्द्रवहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल रावल, संविधानविद् पूर्णमान शाक्यलगायतसंग गरेको छलफलमा देउवाले एकपटक चुनाव विथोलिंदा त्यसको असर धेरै समयसम्म पर्ने बताउंदै राजावादी र अतिवादी कम्युनिष्टहरु मिलेर लोकतन्त्रमाथि नै चुनौति सृजना गर्न सक्ने भएकोले चुनावको विरोध नगर्न निर्देशन दिएका हुन् ।‘सरकारको विरोधमा जे बोले पनि हुन्छ तर कुनै पनि लोकतन्त्रवादीले चुनाव किन गर्न लागेको भनेर चुनाव विरोधि कुरा गर्नु हुंदैन’ देउवाको भनाइ रहेको थियो ।
उनले २०५९ सालमा जसरी पनि तोकिएको समयमा निर्वाचन गरेको भए स्थिति अर्कै हुने र राजाको निरंकुशता स्थापित नहुने तर आफू अलिकति लचिलो भएर चुनाव सार्दा त्यसबाट प्रजातन्त्रकै हत्या भएको भन्दै समयले कतिबेला कस्तो रुप लिन्छ भन्ने थाहा नभएकोले विचार पुर्याएर कदम चाल्नु पर्ने देउवाको तर्क रहेको थियो ।देउवासंग भेटघाटमा सहभागि भएका वरिष्ठ अधिवक्ता शाक्य सर्वोच्च अदालतद्धारा संसद विघटन सम्वन्धि विषयको निरुपण गर्न गठित एमिकस क्युरीका सदस्य पनि हुन् ।
त्यसैले देउवाको निर्देशनमा काम गरेको भन्दै विवाद हुन सक्ने भएकोले भेटघाट गोप्य राखिएको संघका एक पदाधिकारीको भनाई छ । ‘पार्टी सभापतिको निर्देशनपछि हामीले अब चुनावको विरोध गर्दैनौं । अदालतमा वहस गर्दा पनि चुनाव घोषणाको प्रकृयाको बारेमा केही टिप्पणी हुन्छ तर विरोध हुंदैन, निर्वाचन हुनु पर्छ भनेर नै हाम्रा साथीहरुले आफ्ना राय दिनुहुन्छ’ उनको भनाइ छ ।स्रोतका अनुसार देउवाले नेपाली कांग्रेसले सहकार्य गर्नको लागि प्रचण्ड भन्दा पनि ओली ठीक हुने धारणा समेत राखेका थिए ।
‘प्रचण्डसंग विगतमा सहकार्य गरेर हेरियो । उनी कतिबेला बोली फेर्छन् भन्ने टुंगो छैन । उनी जस्तो सुकै विषयमा पनि तुरुन्तै सहमत हुन सक्छन् र तुरुन्तै निर्णय फेर्न सक्छन् । तर, ओली त्यस्ता छैनन् । उनलाई सहमत बनाउन गाह्रो पर्छ । तर, जब कुनै निर्णयमा सहमत हुन्छन्, त्यसपछि उनीसंग निर्धक्कले काम गर्न सकिन्छ’ देउवाको भनाइ थियो ।