बर्तमान सरकार काम चलाउ भइसक्योः मन्त्री तुम्बाहाङ्फे
विराटनगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्।विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भएको बताइन्। उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको बताइन्।
यद्यपि, खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाङ्फेको जिकिर रहेको छ।मन्त्री तुम्बाहाङ्फेले संसद पुनर्स्थापना गर्ने नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले निर्णय दिने भएकाले आफूले त्यसबारे टिप्पणी नगर्ने बताइन्। ‘सरकारले सर्वोच्चको जुनसकै निर्णयलाई मान्न तयार छ,’ उनले भनिन्, ‘संसद पुनर्स्थापनाबारे अदालतमा विचाराधीन अवस्थामा छ। यस विषयमा म धेरै टिप्पणी गर्दिनँ।
अर्को एक प्रसंगमा मन्त्री तुम्बाहाङ्फेले विदेशीको इसारामा नेकपा पार्टी विभाजनलाई मिलाउने र फुटाउनेबारे कुनै हात नहुने बताइन्। उनले पार्टी फुटाउने र जोड्ने कुनै पनि दलको स्वतन्त्र अधिकारको कुरा रहेकाले विदेशीले भन्दैमा पार्टी एकता र फुटको सम्भावना नरहेको पनि जिकिर गरिन्।उनले सानो झुण्डा लिएर नेकपाबाट बाहिरएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेतालाई पार्टीमा समाहित हुन आफूहरुले आग्रह गरिरहेको पनि बताइन्।
मन्त्री तुम्बाहाम्फले सरकारले तोकेको समयमै चुनाव हुने भएकाले त्यसका लागि सम्पूर्ण तयारी भइरहेको बताइन्। सरकारको कार्यसम्पादनमा अवरोध सिर्जना भएको भन्दै सहज परिस्थिति निमार्ण गर्न ताजा जनादेश प्राप्तिका लागी संसद विघटन गरिएको दाबी गरिन्। उनले ६४ प्रतिशत बहुमत बोकेको दललाई सरकार सञ्चालनको वातावरण नबनाइदिएकै कारण संवैधानिक रुपमा संसद विघटन गरिएको जिकिर गरिन्।