भारतद्वारा कोरोना खोप निर्यातमा रोक

काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा अनुमति प्राप्त गर्ने खोप खरिद गर्ने तयारी गरिरहेको थियो।

भण्डारणका हिसाबले उपयुक्त हुने भन्दै भारतमा उत्पादित खोपको पर्खाइमा रहेको नेपाललाई भारतले खोप निर्यातमा रोक लगाएपछि थप संकट उत्पन्न भएको हो। अक्सफोर्ड एस्ट्राजोनको खोपलाई भारतको सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको छ। यो खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। भारत सरकारले यो खोपलाई प्रयोगको अनुमति दिएलगत्तै निर्यातमा रोक लगाएको बीबीसीले जनाएको छ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी अदार पुनावालाले भारतले पहिले आफ्ना नागरिकको सुरक्षा गर्न चाहेको र त्यसै कारणले निर्यातको अनुमति नदिएको भन्दै यो निर्णयको सम्मान गरिएको बताएका छन्।भारतले आफ्नै देशमा बनेको अर्को खोप कोभ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ। तर यो खोपको प्रभावकारिता बारे भारतमै विभिन्न प्रश्नहरु उठेका छन्। भारतका विपक्षी दलका नेताहरुले यो खोप क्लिनिकल ट्रायलका क्रममा पनि प्रभावकारी नदेखिएको र सबै चरणका ट्रायलसमेत पार गरिनसकेको भन्दै आलोचना गरेका छन्।

भारतमा केही समयमै खोप कार्यक्रम सुरु गर्ने र आगामी जुलाईसम्म ३० करोड जनालाई खोप दिने तयारी गरिएको छ। यसअघि भारतीय अधिकारीहरुले भारतमा खोप लगाउन सुरु हुँदा नेपाललाई आवश्यक पर्ने ३ प्रतिशत खोप उपलब्ध गराउने आश्वासन दिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। तर भारतले प्रभावकारी मानिएको खोप निर्यातमा रोक लगाएपछि कुन खोप दिन्छ भन्नेमा समेत आशंका बढेको छ।