कर्णालीका मन्त्रीले नेकपामा गुट परिबर्तन गरे
सुर्खेत, कर्णाली प्रदेशका दुई जना बहालवाला मन्त्रीले गुट परिवर्तन गरेका छन्। कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा बहाल रहेका मन्त्री प्रचण्ड नेपाल समूहमा समाबेश भएका हुन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा गएका हुन्। मन्त्री रावललाई ओली समूहले भने केन्द्रीय सदस्य बनाएको थियो।
प्रदेशसभाको विद्यायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय भने कर्णालीमा ओली क्याम्पनजिक देखिए पनि केन्द्रमा माधव नेपाल समूहमा पहिलेदेखि नै रहेका थिए। म त पहिलेदेखि नै नेपाल समूहमा छु, म अहिले आएको होइन,’ रोकायले स्पष्ट पारेका छन्।यता, अर्का मन्त्री पनि ओली खेमा छोड्ने तयारीमा रहेका छन्।
मुख्यमन्त्री नजिकको स्रोतका अनुसार प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पनि ओली खेमा छोडेर प्रचण्ड नेपाल खेमामा लाग्ने अन्तिम तयारी भएको छ।खासगरी जिल्लाको टिमसहित खेमा परिवर्तन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ।योसँगै कर्णाली प्रदेश सरकार पूर्ण सुरक्षित भएको छ।
यसअघि दुईजना साविकका माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट ओली समूहमा गएसँगै कर्णाली प्रदेश सरकार असुरक्षित भएको भन्दै चर्चा चलेको थियो। अब भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार पूर्णरूपमा सुरक्षित देखिएको छ।
पछिल्लो हिसाबअनुसार कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना मन्त्री बुढासहित पुगेका छन्। मन्त्री हुने दाउमा ओली पक्षमा लागेका पूर्व-माओवादी प्रदेश सभा सदस्यहरु भने जिल्लिएका छन्।