सुदूरपश्चिम प्रदेशमा ओली पक्ष अल्पमतमा
धनगढी, सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा परेको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । जसमध्ये नेकपाको संस्थापन पक्ष ९प्रचण्ड–माधव०मा ३० जना सांसद छन् भने ओलीको पक्षमा ६ जना सांसद मात्र रहेका छन् ।
सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । बैठकमा ३६ जना सहभागी थिए ।आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएनन् । नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताएका छन् ।
बैठकमा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख हुन् ।बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढताका साथ लाग्ने र प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर अघि बढाउने निर्णयसमेत गरेको छ ।