राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन
काठमाडौं, सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै कारबाहीको निर्देशन दिएको बताएका हुन्।
राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको र सम्बन्धित निकायलाई छानविन गरी कारवाही गर्ने निर्देशन दिएको पनि बताएको छ । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ।
नाराबाजी गर्ने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताइन्।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन्। आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारावाजि हुने गरेको छ।