संसद विघटनको बचाउ गर्दै राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ दिने तयारी

काठमाडौँ, प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा दर्जन भन्दा बढी रिट दायर भएका छन् । त्यही क्रममा पुस १० गते सर्वोच्चको संवैधानिक इजलासले १९ गतेसम्म लिखित जवाफ पेश गर्न भनेको थियो । राष्ट्रपति कार्यालयले लिखित जवाफ तयार भएको र आइतबार नै महान्याधिवक्ता कार्यालयमार्फत् पेश गरिने बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले सवै विवरण उपलव्ध भएपछि पुस २२ गतेदेखि निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको थियो । इजलासले सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेशसमेत गरेको थियो ।