मुख्यमन्त्रीले आफ्नै घरको ढुङ्गा निकालेर जग कमजोर बनाएः पूर्वमन्त्री बोहरा
धनगढी, सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त गरेको आरोप लगाएका छन्।बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री भट्टले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरी थप समस्या निम्त्याउने काम गरेको टिप्पणी गरेका छन्।
राजनीतिक पूर्वाग्रह राखेर उनले मलाई बिना कारण हटाए बोहराले भने यसले मलाई अप्ठयारो पर्दैन्। मन्त्रालयको कामकाज प्रभावित भयो। उहाँले आफ्नै घरको एउटा ढुङ्गा निकालेर जग कमजोर बनाउने काम गर्नुभयो। बोहराले आफ्नो ३ वर्षे कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयले महत्वपूर्ण काम गरेको दाबी समेत गरेका छन्। उनले ७ वटै प्रदेशमा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले राम्रो काम दिएको बताए।
उनले सुदूरपश्चिम प्रदेशमा ३ वर्षको अवधिमा सडक विस्तार तथा कालोपत्रे, विद्युत, खानेपानी लगाएतका योजनाहरुमा राम्रो प्रगति भएको उनले बताए। नेकपा विभाजनपछि मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली निकट बोहरालाई पुस १४ गते पदमुक्त गर्दै मन्त्रालयको जिम्मेवारी आफूले लिएका थिए।