वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने
काठमाडौँ, वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवनबिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।
भोलिदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले जानकारी दिए ।एकपटक विभागबाट आइडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दाहालले जानकारी दिए ।
नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेसन संस्थाहरूबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेकोसमेत दाहालले बताए ।अबको दुई महिनाभित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सक्ने गरी काम भइराखेको उनको भनाइ छ ।वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफइआइएमएस)मार्फत फारम भर्न सक्नेछन् ।अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि दाहालले बताए ।