एनटिटिभी सेवा सुरु गर्दै टेलिकम

काठमाडौं, नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकहरुले एनटिटिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट अप बक्स खरिद गर्नुपर्नेछ ।

टेलिकमको अनुसार विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेभसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ ।