ऊर्जामन्त्री परिबर्तन भएसँगै सुरु भयो फोर्स लोडसेडिङ
काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो केही दिनयता पूर्व सूचना बिना नै दैनिक रुपमा बत्ति गइरहेको छ । कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि उपभोक्ताले बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या भोग्न छाडेका छैनन् । घरमा ब्याकअप नहुनेहरुले बत्ति कुरेर नै बस्नुपर्ने अवस्था छ भने नो लाइटमा सम्पर्क गर्दा सम्पर्क नहुने नियति उत्पन्न भएको छ ।
प्राधिकरणले पनि मागअनुसार आपूर्ति गर्न बिजुलीको परिमाणअनुसार समस्या नरहेको पनि बताउँदै आएको थियो । कुनै बेला बत्ति जानुलाई उपभोक्ताले प्राविधिक समस्या ठानेपनि हाल ‘फोर्स लोडसेडिङ’ सुरु भएको छ ।कुनैबेला लोडसेडिङ हट्न ५र६ वर्ष लाग्ने अभिव्यक्ति दिने टोपबहादुर रायमाझीको पुनः ऊर्जा मन्त्रालयमा कमब्याक भएसँगै सर्वसाधारणको ध्यान खिचिएको छ । २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा भएका रायमाझीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रीमा नियुक्त गरेका थिए ।
१८ घण्टे लोडसेडिङका साक्षी रायमाझीलाई मन्त्रालयमा ल्याएपछि सर्वसाधारणले पुनः लोडसेडिङ हुने होकी भन्ने चासो देखाएका छन् ।तर, गतवर्ष भन्दा यो वर्ष बिजुलीको माग बढि भएको र त्यसलाई पुर्ति गर्न ‘फोर्स लोडसेडिङ’ गर्नुपरेको प्रधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार गतवर्ष पुस १३ गते १४०७ मेगावाटको पिक डिमान्ड रहेको थियो ।
हाल १४५७ मेगावाट पुगेको छ । माग बढ्दा फोर्स लोडसेडिङ हुने गरेको छ ।जाडो मौषममा हिटर, एसी इलेक्ट्रिक गिजर, इन्डक्स लगायतका उपकरण चलाउँदा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत खपत हुने अवस्थामा वितरण प्रणालीमा बढी चाप परेर बत्ति जाने समस्या भएको बताइएको छ ।