बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेश संसदीय दलको बैठक डाकेको छ । मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षले नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ ।

नेतृ शाक्यले अहिले ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको बागमती प्रदेशका एक सांसदले बताएका छन् । बैठकले शाक्यलाई दलको नेता बनाउने जनाइएको छ ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गरेका थिए । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडलले जम्कट्टेल र माझीलाई पदबाट बर्खास्त गरेका थिए ।