नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझेर चिनियाँ टोलीे फर्कियो

काठमाडौं,नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज (बुधबार) स्वदेश फर्किएको छ । संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको राजनीतिक परिस्थिति बुझ्न चिनियाँ टोली नेपाल आएको थियो ।

हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री यैचौको टोली काठमाडौ आएको थियो । नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको थियो । टोलीले शुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको थियो भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो ।

यस्तै टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग छलफल गरेको थियो ।नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिए पनि चिनियाँ टोलीले भने त्यसको खण्डन गरेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदानलगायत विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको उनीहरुले स्पष्ट पारेका छन् ।