संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

काठमाडौं, संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दैछ ।कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।

औपचारिकताका लागि विरोध कार्यक्रम तय गरे पनि सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा रहेको भन्दै कांग्रेसभित्रै आलोचना समेत हुँदै आएको छ । यही विषयमा हिजो देउवाले महामन्त्री शशांक कोइरालासहित आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । सरकारको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टीले आन्दोलन गरिसकेका छन् ।