मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । रिक्त रहेका ७ मन्त्रालयमा प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने जनाएका थिए ।
छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, सरकारको पहिलो काम नै यही हो । उनले बिहिबार भनेका थिए ।बालुवाटार स्रोतका अनुसार धेरै प्रभावशाली नेताहरु मन्त्री बन्ने दौडधुपमा छन् । नेकपाको संस्थापन पक्ष अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई छोडेर ओली समूहमा लागेका प्रभावशाली स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी मन्त्रिमण्डल विस्तारमा छुट्ने छैनन् । उनले रिक्त पद मध्ये रोजेको मन्त्रालय पाउने ओली समूहका एक नेताले जानकारी दिए ।
अहिले ऊर्जा तथा जलस्रोत, शिक्षा तथा विज्ञान प्रविधि, कृषि तथा पशुपंक्षी विकास, श्रम तथा रोजगार, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र खानेपानी मन्त्रालय रिक्त छ ।मन्त्री बन्ने सूचीमा प्रेम आले, महेश बस्नेत, छविलाल विश्वकर्मा, दलबहादुर राना, विशाल भट्टराई, नारदमुनी रानालगायतका नेताहरु पनि रहेका छन् ।प्रतिनिधि सभा विघटन भएकोले सांसद नभएका नेता पनि मन्त्री बन्न पाउने छन् । तर विघटित प्रतिनिधि सभा सदस्य मध्येबाट मन्त्री बनाउने तयारी रहेको स्रोतले बतायो ।