नेकपाका अध्यक्ष नेपाल, महरा र वर्षमानलाई राजदूत यान्छीले भेटिन्
काठमाडौं, नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार शिष्टाचार भेटघाट गरेकी छन् ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिएका छन् । राजदूत यान्छीले आज (शुक्रबार) नै नेकपाका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुनलाई समेत भेटेकी छन् ।
नेकपा विभाजपछि विकसिमत राजनीतिक घटनाक्रममा चिनियाँ चासो बढेको छ । राजदूत यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकी थिइन् । मंगलबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।
यान्छीले गत वैशाख, असार र मंसिरमा सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन ‘सहजीकरण’ गरेकी थिइन । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न राजदूत होउको सक्रियता बढेको हो ।