इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै

काठमाडौं, येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजले बताए ।हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।

तर, यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले सावधानी अपनाउने उनले आह्वान गरेका छन् ।क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा अघिल्ला वर्षकहरूको जस्तो यस पटक रौनक छैन । महामारीका कारण यस पटक जमघट कम छ ।