प्रचण्डलाई गरे ओली समूहले कारबाही, कार्यकारी जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो।

ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ ।यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ।

बैठकमा मूलत: चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो। केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ।यसअघि अध्यक्ष दाहाल-नेपाल पक्षको बैठकले पनि प्रधानमन्त्री ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई बनाउने निर्णय गरेको थियो ।