प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरुप होः देउवा
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बताएका छन् । आज मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक आकांक्षाको प्रतिरुप भएको जनाएका छन् ।
उनले सम्बोधनमा भने ‘संसद विघटनको ओलीको कदम अधिनायक आकांक्षाको प्रतिरुप हो । यो सर्वसत्तावादको संकेत हो । यस्तो बेलामा देश गम्भीर संकटमा पुगेको छ कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्नु पर्छ । वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नु पर्ने बताए । अहिले वैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम चलिरहेको छ ।
केन्द्रिय सदस्यहरुले आफुले चाहे जति समय लिएर बोल्न पाउने व्यवस्था गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताए । उनले भने ‘जनता कोरोना महामारीका बेला सेतो कात्रो ओढेर घाटतिर जान बाध्य भएका बेला प्रधानमन्त्रीलाई भने रातो झण्डा बोकेर भोट माग्न जाने इच्छा जागृत भएको छ । यो विल्कुल अमिल्दो विषय हो ।’
साथै उनले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रुपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताए । कांग्रेस केन्द्रिय समिति वैठकमा संसद पुनस्र्थापनाको विषयको पहलमा के गर्ने, निर्वाचनलाई कसरी लिने, संवैधानिक संकटको अवस्था, राजनीतिक रुपमा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।