सरकारलाई घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन भएको होः प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन भएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका हुन् ।
उनले सम्बोधनका क्रममा भने, विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो ।
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको उनले बताएका छन् । उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दाबी गरे ।