प्रचण्डले बादललाई भने गृहमन्त्रीबाट राजीनामा दिएर साथ दिनुस्

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोकमा पुगेर प्रचण्डले बादललाई भेटेका हुन् । भेटमा दुवै नेताबीच छोटो कुराकानी भएको बताइएको छ ।

बालुवाटारमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको भेलामा सहभागी नभएर आफ्नै छुट्टै गुट भेला गरेका बादललाई प्रचण्डले साथ दिन अनुरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाका थिए ।

तर, बादलले राजीनामा दिन आनाकानी गरेका थिए । त्यसकारण पनि प्रचण्डले उनलाई आज भेटेरै दबाब दिएको स्रोतका भनाई छ ।यसअघि बादललाई ओलीसँग नमिल्न पूर्वमाओवादीनिकट डेढ दर्जन केन्द्रीय सदस्यले दबाब दिएका छन् । ओलीको कदम अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै उनी निकट नेताहरुले ओलीलाई सो कदममा साथ दिएको खण्डमा आफुहरुको साथ नहुने चेतावनी पनि दिएका थिए ।