ओलीलाई कार्बाही गर्ने निर्णय भइसकेको छः प्रचण्ड

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न अनुरोध गरेका छन् ।

सोमबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै प्रचण्डले भनेका छन्, हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।

राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन उनले सबैलाई अपिल गरेका छन् ।