प्रचण्ड निवास खुमलटार पुगे ओली

काठमाडौं, पार्टीभित्र विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार गएका छन् ।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै निवास गएका हुन्। अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको छ।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले ओलीलाई म मात्रै आउनु तपाईं नि मेरोमा आउँदा हुन्छ नी भनेको बालुवाटार स्रोतले जनाएको छ । त्यसको जवाफमा ओलीले शनिबार बिहान खुमलटार आउँछु भनेका थिए ।

पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।